श्रद्धेय बुवा,
हरेक साल आउने बुवाको मुख हेर्ने दिन! सानैमा यसको महत्त्व जानिनँ, महत्त्व जान्दा तपाईँदेखि टाढा छु । मैले बुवालाई के कोसेली पठाऊँ होला भन्दाभन्दै छुट्याउन नसक्दा धेरै मुख हेर्ने दिन फुत्केका छन्, अनायासै आज विहानदेखि लाग्यो कि म यसपालि बुवालाई पत्र लेख्छु । फोन संवादमा हुने गरेका मुख हेराई यसपालि पत्रले हेर्छु भन्ने लाग्यो र कोर्दै छु, कही कतै गहिराइमा पुगिनँ भने सोचिदिनु कि छोरा सानै छ र बुझ्दै जान्छ ।
बुवा प्रथमत एउटा छोरालाई मेरो बुवा गलत भन्ने लाग्छ वा लाग्दैन होला म जान्दिनँ । दुईबीचको सम्बन्धमा भर पर्दो हो सायद । तर मलाई आजसम्म के कुरामा गर्व छ भने मेरो आदर्शपात्र नै हजुर हो । मैले गुनासो गर्ने ठाउँ पाएकै छैन र गर्दिन पनि । भइ नै हालेछन् भने पनि संवादले हल गर्छ भन्ने बुझ्छु । ढुक्क हुनुस् हजुर र मेरोबीचमा विवादका निम्ति ठाउँँ छैन यो जीवनमा । मलाई हजुरसँँग धेरै समय बिताउनुछ, तपाईँँको प्यार मैले अझै पाउनु छ । भर्खर त तङ्ग्रीदै छु, आजसम्म डोर्याउनु भयो, अझै डोर्याउनु छ । तपाईँँविनाको मेरो जीवनको आधार त के नै होला र । मलाई थाहा छ, सधैँ अमर म पनि रहन्न तर मलाई किन किन लाग्छ तपाई र मेरो सम्बन्धका निम्ती आजसम्मका वर्ष छोटा भए, अझ युगौँ युग मैले बुवा भन्न पाइराख्छु ।
आजसम्म मभित्र जे जे मानवीय पक्ष छन, ती सवै हजुरका संस्कार हुन् । साना साना चिजमा पनि हजुरलाई नसोधी म अगाडी बढ्न सक्दिनँ, बढेको छैन, मैले कमाएको सम्पत्ती सायद यही हो । तपाईको आवाजले मलाई उर्जा दिन्छ अनि दायित्व थपिदिन्छ र मान्छे बन्न सिकाएको छ । त्यो पिताप्रति मेरो चरण स्पर्श ढोग छ ।
मैले हजुरलाई, कहिल्यै भावनामा बोलेको देखिनँ, उत्तेजनामा बोलेको देखिनँ, आडम्वर त कहिल्यै भेटिनँ । बुवा मिल्छ भने ती सबै गुण मलाई सापटी दिनुस न । आजसम्म तपाइको छोरा भनी चिनिँँदा आनन्द लाग्यो, अब मेरो बुवा भनी चिनाउन प्रयत्नरत छु । हजुरलाई जित्न त सक्दिनँ होला, प्रयास भने गर्दैछु । एउटा पितालाई मुर्ख पुत्र हुँदा पोल्ने आगोले शरीरलाई जसरी जलाउँँछ, त्यस्तो हुन दिन्न बुवा । हजुरप्रतिको श्रद्धा, स्नेह कदापी घट्ने छैन बरु हजुरको उमेर र आवश्यकतानुसार बढ्ने छ । हाम्रो सम्बन्ध सधैँ यस्तै नमुना बनोस्, यहि पत्र हजुरलाई कोसेली ।